निकासको लागि निर्वाचन : शेखर कोईराला

नेपाली कांग्रेस

चौथोअंग
खोटाङ, २९ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले वर्तमान राजनीतिक संकटको निकास निर्वाचनले मात्र दिन सक्ने बताएका छन् । खोटाङका त्रिधार्मिक स्थल हलेसी महादेव मन्दिरको प्राङ्गणमा भएको पत्रकार सम्मेलन बोल्दै कोईरालाले यस्तो बताएका हुन् ।
वर्तमान प्रधानमन्त्री केपि ओलीले पुस ५ गते चालेको कदम असंवैधानिक तथा अलोकतान्त्रिक भएकाले कांग्रेस विपक्षीमा उभिएको स्मरण गर्दै नेता कोईरालाले प्रतिनिधी सभा पुनःस्थापनाले संविधानको रक्षा भएको उल्लेख गरे । उनले प्रतिनिधी सभाको पुनःस्थापना पछि विकसित राजनीतिक घटनाक्रमहरु हेर्दा वर्तमान संसद अनिर्णयको बन्दि भएकाले निर्वाचनको विकल्प नभएको उनको दावि थियो ।
मध्यावधी होस या आवाधिक जे भएपनि अव निर्वाचन नभई मुलुकले सहि दिशा समत्न नसक्ने बताउँदै उनले निर्वाचनका लागि अल्पमतको सरकारको आवश्यकता रहेको बताए । वर्तमान सरकार संविधानको धारा ७६ को २ अनुसार बनेकाले नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता नलिए सम्म कुनै प्रकृया अगाडि बढन् नसक्ने उनको तर्क थियो । ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि ओलीजीले विश्वासको मत लिनु पर्ने हुन्छ । त्यसबेला कांग्रेस प्रतिपक्ष भएका नाताले विपक्षीमा मतदान गर्छ’ उनले भने ‘यसपछि जसको सरकार बन्छ, त्यसैले निर्वाचन गराउन सक्छ ।’ सरकार बनाउने कुरामा केही समिकरणहरु निर्माण हुन सक्ने आंकलन कोईरालाले गरेका छन् । उनले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेरपनि सरकार बन्न सक्ने संकेत गर्दै एमाले र जसपा मिल्न सक्ने पनि बताए ।
नेपाली कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रको विषयलाई लिएर उनले सच्च्याउन जरुरी रहेको भन्दै उनले आफुले कांग्रेसको आउँदै गरेको चौधौँ महाधिवेशनमा सभापतिमा निर्वाचन लड्ने बताएका छन् । उनले घुमाउरो भाषामा आफुले प्रधानमन्त्री हुन नचाहेको भन्दै पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्दै शक्तिशाली पार्टी निर्माण गर्न केन्द्रीय समितिको सभापति बाहेक अन्य कुनै पदमा उम्मेदवारी नदिने पनि उनले बताएका छन् ।
स्थापना कालदेखि कोईराला परिवारको विरासत रहेको नेपाली कांग्रेसमा पुस्तान्तरणको पनि केही प्रभाव भएपनि सबैले भनेजस्तो आलोचना र स्यावासी बाहेक केही नरहेको उनको प्रष्टोक्ती रहेको थियो । उनले नेपाली कांग्रेसमा अहिले नैतिकता र संस्कार हराउँदै गरेकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘ खासगरी म नेपाली कांग्रेसका साथीहरुलाई भन्छु कांग्रेसको कार्यकर्तामा नैतिकता संस्कार रहेन भने काम लाग्दैन ।’ उनले लोकतान्त्रिक संस्कार र चरित्र कमजोर हुँदै गएकाले सच्याउने ठाउँमा आईपुगिएकाले आगामी योजना यसै अनुरुप बन्नुपर्नेमा जोड दिएका छन् ।
प्रेस युनियन खोटाङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य विदुर तिमिल्सिना, कांग्रेस खोटाङ सभापति नरेश श्रेष्ठ, पूर्व सभापतिहरु विष्णु राई, सुवास पोख्रेल लगायत कांग्रेसका नेताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार